पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको संक्षिप्त परिचय
पृष्ठभूमि
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (Pokhara International Airport) गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित छ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा १ जनवरी २०२३ (वि.सं. २०७९ पुस १७ गते) देखि औपचारिक रूपमा सञ्चालन सुरु भएको हो । नेपालको पर्यटकीय राजधानी पोखरा क्षेत्रमा अन्तर्राष्ट्रिय हवाई पूर्वाधारको विकाससँगै नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने अवस्था सिर्जना भएपछि सोहीअनुसार भन्सार प्रशासनको संरचना र जनशक्ति व्यवस्थापन गरिएको हो । यसै सन्दर्भमा वि.सं.२०८२ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय स्थापना भई कार्य सम्पादन गर्दै आएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हुने यात्रु तथा मालवस्तुको आवागमनमा भन्सारसम्बन्धी कानून तथा नीति कार्यान्वयन, राजस्व संकलन, व्यापार सहजीकरण, अवैध ओसारपसार नियन्त्रण तथा सीमा सुरक्षामा योगदान गर्ने जिम्मेवारी प्रदान गरिएको छ ।
विमानस्थल भन्सार प्रशासनको मुख्य उद्देश्य कानूनको प्रभावकारी कार्यान्वयनसँगै यात्रु तथा व्यवसायीलाई छिटो, सरल, पारदर्शी र प्रविधिमैत्री सेवा प्रदान गर्नु हो । यस कार्यालयले सम्बन्धित सुरक्षा निकाय, विमानस्थल प्रशासन, अध्यागमन, नेपाल प्रहरी, एयरलाइन्स तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी भन्सार नियन्त्रण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्य गर्दछ ।
कार्यालयका प्रमुख कार्यहरू :
* विमानस्थलबाट आवागमन गर्ने यात्रुका साथमा रहेका भन्सारयोग्य मालवस्तुको जाँच तथा आवश्यकतानुसार भन्सार जाँचपास गर्ने।
* प्रचलित कानूनबमोजिम भन्सार महसुल, कर तथा अन्य दस्तुर असुल गर्ने।
* आयात/निर्यात तथा कार्गोसम्बन्धी भन्सार प्रक्रिया सञ्चालन र व्यापार सहजीकरण गर्ने।
* जोखिममा आधारित भन्सार नियन्त्रण, निगरानी तथा अवैध ओसारपसार नियन्त्रणमा सहयोग गर्ने।
* निषेधित वा नियन्त्रित वस्तुको अवैध आवागमन रोक्न सम्बन्धित सुरक्षा तथा नियामक निकायसँग समन्वय गर्ने।
* यात्रु तथा व्यवसायीलाई भन्सारसम्बन्धी सूचना, प्रक्रिया र सुविधाबारे आवश्यक जानकारी तथा सहजीकरण प्रदान गर्ने।
* भन्सार स्वचालन प्रणाली तथा सूचना प्रविधिको प्रयोगमार्फत जाँचपास प्रक्रिया सरल, पारदर्शी र प्रभावकारी बनाउने।
कार्यालयको रणनीतिक महत्व
पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको भूमिका राजस्व संकलनमा मात्र सीमित छैन । पर्यटन, वैदेशिक आवागमन, व्यापार तथा लगानीको वातावरणलाई सहज बनाउँदै राष्ट्रिय सुरक्षा, समाज संरक्षण र अवैध व्यापार नियन्त्रणमा समेत यस कार्यालयको महत्वपूर्ण भूमिका रहन्छ । अन्तर्राष्ट्रिय यात्रुको पहिलो तथा अन्तिम भन्सार सम्पर्कबिन्दुका रूपमा कार्यालयले सेवामुखी, व्यावसायिक, पारदर्शी र जोखिममा आधारित भन्सार प्रशासनको अभ्यासलाई सुदृढ गर्नुपर्ने हुन्छ ।
आधुनिकीकरण तथा भावी दिशा
भन्सार प्रशासनको समग्र सुधार तथा आधुनिकीकरणको दिशाअनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले डिजिटल प्रविधिको अधिकतम उपयोग, जोखिम व्यवस्थापनमा आधारित जाँच, अन्तरनिकाय सूचना आदानप्रदान, यात्रुमैत्री सेवा, दक्ष जनशक्ति तथा अन्तर्राष्ट्रिय असल अभ्यासको अनुशरणमा जोड दिनु आवश्यक छ । यसबाट राजस्व संरक्षणसँगै वैध व्यापार तथा यात्रु आवागमनलाई थप सहज र सुरक्षित बनाउन सकिनेछ । साथै पोखराको पर्यटन तथा आर्थिक सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने क्रममा यस कार्यालयले राजस्व संकलन, व्यापार सहजीकरण, सामाजिक संरक्षण र सुरक्षा नियन्त्रणबीच सन्तुलन कायम गर्दै प्रभावकारी, पारदर्शी तथा सेवामुखी भन्सार प्रशासन निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने सम्भावना रहेको छ ।